Saturday, February 13, 2010

'ख्यातिलाई एक्लै मारेको हुँ’

ख्याति श्रेष्ठको हत्याका अभियुक्त वीरेन श्रेष्ठले आफूमाथिको अभियोग निर्धक्क स्विकारेका छन् । काठमाडौं जिल्ला अदालतमा शुक्रबार बयान दिने क्रममा वीरेनले आफू एक्लै हत्यामा संलग्न भएको बताए ।

१९ वर्षीया ख्यातिलाई अपहरण गर्ने योजनामा समेत अरू कसैको संलग्नता नभएको उनको भनाइ छ । वीरेनले मेरिनालाई अपहरणमा प्रयोग गरे पनि उनलाई त्यसको जानकारी नभएको बयान दिएका छन् ।

वीरेनका अनुसार एकजना केटीलाई कोठामा पुर्‍याइदिनुपर्ने सहमतिअनुसार मेरिना वीरेनको मोटरसाइकलमा बसेर पुतलिसडक आएकी थिइन् । पुतलिसडकमा एकछिन बसेपछि मोटरसाइकलबाट झर्दै गरेकी ख्यातिलाई वीरेनले टाढैबाट मेरिनालाई चिनाएका थिए ।

मेरिनाको बयानअनुसार योभन्दा अगाडि उनले ख्यातिलाई चिनेकी थिइनन् । छुटिने वेलामा वीरेनको हातबाट पाँच सय रुपैयाँ लिएको मेरिनाले जनाएकी छिन् । 'त्यो पैसा ट्याक्सी चढ्नलाई लिएकी हुँ,' उनले भनेकी छिन् ।

भोउ म्यागेजिनको अन्तर्वार्ताका लागि भनेर बोलाइएकी ख्याति २२ जेठ बिहान आठ बजे पुतलसडक पुगेकी थिइन् । कथित अन्तर्वार्ता दिने ठाउँमा पुर्‍याउने जिम्मा वीरेनले लिएका थिए ।

ख्यातिलाई लिएर मेरिना वीरेनको कोठामा पुग्दा वीरेन अगाडि नै त्यहाँ थिए । कोठामा पुगेको केही समयपछि वीरेनले ख्यातिलाई आक्रमण गर्न थालेपछि किन यसो गरेको भनेर छेक्न खोजेको मेरिनाले बताएकी छिन् ।

बयानमा मेरिनाले भनेकी छिन्, 'रडले ख्यातिलाई हान्दा छेक्न खोजेपछि वीरेनले मलाई पनि एक झापड हान्यो ।' वीरेनले पिटेपछि आफूलाई अर्को कोठामा दिनभर थुनेर राखेकोसमेत मेरिनाको बयानमा उल्लेख छ ।

ख्यातिको हत्या दिउँसो २ बजेतिर भएको मेरिनाले जनाएकी छिन् । हत्यापछि घटनाबारे कसैलाई नभन्ने सर्तमा वीरेनले मेरिनालाई मोटरसाइकलमा राखेर घरमा पुर्‍याएका थिए ।

बयानको विषयमा कुरा गर्दै अधिवक्ता हरिषचन्द्र सुवेदीले भने, 'वीरेनले प्रहरीमा दिएको बयान र अदालतमा दिएको बयानमा केही फरक छैन । उनले हत्या गरेर फिरौती लिएको स्विकारेका छन् ।' बिहान ११ बजे वीरेन र मेरिनाको अदालतमा बयान सुरु भएको थियो ।

बयानका क्रममा समेत निकै जिज्ञासुका रूपमा प्रस्तुत भएका वीरेनले कमा, फुलस्टप, र जस्ता अक्षर बीच-बीचमा सच्याउने प्रयास गरेका थिए । आफूले बोलेको र लेखेको कुराबीच तालमेल छ कि छैन भनेर उनले निकै ख्याल गरेको बयानमा संलग्न अधिकारीले जनाएका छन् । मेरिना भने सामान्य रूपमा प्रस्तुत भएकी थिइन् ।

ख्यातिका सर्मथकहरूले अदालत घेर्ने आशंकामा अदालतको सुरक्षा व्यवस्था निकै कडा गरिएको थियो । अदालतका सबै काम थाँती राखेर अगाडि बढाइएको बयान र सुनुवाइपछि वीरेन र मेरिनालाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय भएको छ । न्यायाधीश भुपेन्द्रप्रसाद राईको एकल इजलासले थुनुवामा राख्ने निर्णय गरेपछि वीरेनलाई केन्द्रीय कारागर र मेरिनालाई महिला कारागार पठाइएको छ ।

No comments:

Post a Comment