Saturday, February 13, 2010

आई लभ यु मेरिना

काठमाडौं, ३ साउन



४१ वर्षीय वीरेन र १६ वर्षीया मेरिनाबीच प्रेम थियो भन्ने खुलासा पहिले पनि भएको हो । तर, बद्नामी र तिरस्कारको उत्कर्षमा पनि उनीहरूबीचको प्रेम कम भएको छैन ।
हत्याका अभियुक्तका रूपमा शुक्रबार अदालतमा पेस हुँदा दुवैका आँखा भिजेका थिए । पीडित पक्षको आक्रमणबाट बचाउँदै प्रहरीले उनीहरूलाई एउटै भ्यानमा राखेर अदालतबाट बाहिर लगेको थियो, वीरेनले पी क्याप लगाएका थिए भने मेरिनालाई कालो कपडाले छोपिएको थियो ।

एकै भ्यानमा भए पनि उनीहरूले एक-अर्काको अनुहार हेर्न पाएका थिएनन् । प्रहरी भ्यान केन्द्रीय कारागार आएपछि वीरेन र मेरिना छुट्टिने वेला आयो । भ्यानबाट ओर्लिने वेला वीरेनले प्रहरीलाई अनुनय गरे, 'प्लिज एकपटक मेरिनालाई हेर्न पाऊँ ।'

ख्यातिको अपहरण र हत्याका सबै कथा सुनेका प्रहरीका नजरमा यी दुवै क्रूर अपराधी हुन् । त्यसैले प्रहरीले मेरिनाको 'बुर्का' खोलिदिएन । केन्द्रीय कारागारमा पुगेर वीरेन झर्ने वेला मेरिनाले बिदा मागिन्, 'म जान्छु है बाबा ।' २६ दिनसम्म हनुमानढोकाको हिरासतमा बसेका वीरेन र मेरिना अदालतको आदेशपछि केन्द्रीय कारागार र महिला कारागारमा छन् ।

२२ जेठमा अपहरणमा परेकी ख्याति श्रेष्ठको हत्याको अभियोगमा ६ असारमा वीरेन र मेरिना पक्राउ परेका हुन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार सुरुमा मेरिना फसेको महसुस भएको थियो । तर, अहिले प्रहरी अधिकारीहरू भन्छन्, 'दुवैबीच गाढा सम्बन्ध रहेछ, मिलिभगतमा अपहरण र हत्या भएको रहेछ ।'




पक्राउ परेको तेस्रो दिन नै वीरेनले सुरक्षार्थ खटिएका प्रहरीलाई मेरिनासँग भेटाइदिन आग्रह गरेका थिए । तर, प्रहरीले उनले आग्रह मानेनन् । त्यसपछि उनले मेरिनाप्रति प्रेम अभिव्यक्त गर्दै हिरासतको भित्तामा लेखिदिए, 'आई लभ यु मेरिना ।'

प्रहरीले भित्तामा यस्तो नलेख्न चेतावनी दिँदा वीरेनले प्रहरीलाई भनेका थिए, 'म मेरिनाविना बाँच्न सक्दिनँ अनि मेरिना पनि मविना बाँच्न सक्दिनँ । मेरिनाले मलाई माया गर्दिनँ भनी भने म आत्महत्या गर्छु ।'

एसएलसीको रिजल्ट प्रकाशित भएलगत्तै ८६.८७ प्रतिशत अंकका साथ मेरिना 'डिस्टिङ्सन्' मा पास भएको सुन्नासाथ वीरेन निक्कै बेचैन भएका थिए । त्यो दिन पनि उनले हिरासतको निगरानीमा रहेका प्रहरीलाई मेरिनासँग भेटाइदिन निक्कै अनुनय गरे । उनले प्रहरीलाई आग्रह गरेका थिए, 'प्लिज, एकपटक मेरिनालाई भेटेर बधाई दिन दिनोस् ।' उनले त्यतिवेला भेट्न पाएनन्, म्याद थप्न अदालत लैजाने क्रममा उनले मेरिनालाई बधाई दिने धोको मेटे ।

अनुसन्धानको क्रममा मेरिना वीरेनसँगको प्रेमका बारेमा प्रायः मौन नै बस्दै आएकी छिन् । वीरेनले भने प्रहरीसँग मेरिना र आफ्नो प्रेमकथा रोचक पाराले निर्धक्कसँग सुनाउँदै आएका छन् । वीरेनको बयानअनुसार मेरिना र उनीबीचको प्रेम दुई वर्षअघि सुरु भएको हो जतिवेला वीरेन आदर्श विद्या मन्दिर (एभिएम) का शिक्षक र मेरिना कक्षा नौकी विद्यार्थी थिइन् । कक्षा नौको पिकनिक जाँदा उनीहरूबीच प्रेम बसेको वीरेनले बताएका छन् । 'पिकनिकबाट र्फकंदा मेरिनालाई सञ्चो भएन, निक्कै टाउको दुख्यो भनेपछि मैले उनलाई आफ्नो कोठामा लगेर आराम गराएको थिएँ,' वीरेनले प्रहरीलाई भनेका छन् । वीरेनका अनुसार त्यही दिनबाट प्रेम सुरु भएको हो ।

विद्यालयमा दुवैको भेट त हुन्थ्यो नै । त्यतिले नपुगेर वीरेन प्रेमिकालाई लिन र पुर्‍याउन उनको घरमा समेत पुगिरहन्थे । विद्यालयको बसमा बस्दासमेत उनीहरू प्रायः सँगैको सिटमा हुन्थे । विद्यालयमा समेत यी दुवैको सम्बन्धको बारेमा निक्कै चर्चा चलिसकेको थियो ।




विद्यालयको भेटमा तिर्सना नमेटिएपछि यी दुवै ट्युसनको बहानामा भेट्थे । मेरिना वीरेनसँग ट्युसन पढ्न उनको कोठामा जान्थिन् । जहाँ दुवैले शारीरिक रूपमा समेत प्रेम साटासाट गरेको प्रहरीसमक्ष वीरेनले स्वीकार गरेका छन् ।

यी दुवैबीच टेलिफोनमा समेत रातभर कुरा हुन्थ्यो । मेरिनाको परिवारले समेत छोरी रातिराति कोसँग कुरा गर्छे भनेर चासो देखाए पनि सोध्ने हिम्मत भने गरेन ।
वीरेन मेरिनालाई लिन र पुर्‍याउन पटक-पटक उनको घरमा आउने-जाने गरेको मेरिनाको परिवारलाई समेत जानकारी थियो । तर, वीरेन शिक्षक हुन् र छोरीसँग उमेर पनि मिल्दैन भन्ने लागेपछि अभिभावकले खासै चासो देखाएनन् ।

यही अनौठो प्रेमयात्राले दुवैलाई अपहरण र हत्याको अभियोगमा केन्द्रीय कारागार पुर्‍यायो । प्रहरीसँगको बयानमा वीरेन र मेरिनाले ख्यातिको हत्यामा आफ्नो संलग्नताको बारेमा खुलेर बयान दिएका थिए । तर, अदालतमा भने मेरिनाले आफूमाथिको अभियोग अस्वीकार गरेकी छिन् भने वीरेनले पनि त्यस्तै बयान दिएका छन् । 'अपहरण र हत्या मैले गरेको हुँ, यसमा मेरिनाको कुनै संलग्नता छैन,' वीरेनले प्रेमिकालाई बचाउन अदालतमा भनेका छन् ।
मेरिनाले पनि अपहरण र हत्याबारे आफूलाई थाहै नभएको बयान दिएकी छिन् । तर, प्रहरीले वीरेनले फिरौतीबाट लिएको १० लाखमध्ये तीन लाख ५० हजार र ख्यातिको मोबाइल मेरिनाको कोठाबाट बरामद गरेको थियो ।

अदालतबाहिर तनाव

कडा सुरक्षाका बीच अदालतमा ल्याइएका वीरेनले क्याप लगाएर आधा अनुहार छोपेका थिए भने मेरिनाको सम्पूर्ण शरीर प्रहरीले कालो कपडाले ढाकिदिएको थियो । उनलाई ढाकेको कालो कपडा इजलासमा लगेर मात्र खोलिएको थियो । मेरिना र वीरेनलाई अदालत ल्याउने थाहा पाएपछि ख्यातिका सर्मथकहरूले १० बजेदेखि अदालत घेरेका थिए । उनीहरू दिनभर अदालत परिसरमा नारा-जुलुस गरेर बसे ।





अदालतमा बाहिरी भीडको हस्तक्षेप हुने डरले दुई सयभन्दा बढी प्रहरीले सुरक्षा दिएका थिए । सुरक्षाका बीचमा पनि अदालत परिसरमा पसेको भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्नुपर्‍यो । त्यसक्रममा भएको झडपमा केही पत्रकारसमेत घाइते भए भने प्रदर्शनकारीले हानेको ढुंगा लागेर पाँच प्रहरी घाइते भएका छन् ।



'ख्यातिलाई एक्लै मारेको हुँ’

ख्याति श्रेष्ठको हत्याका अभियुक्त वीरेन श्रेष्ठले आफूमाथिको अभियोग निर्धक्क स्विकारेका छन् । काठमाडौं जिल्ला अदालतमा शुक्रबार बयान दिने क्रममा वीरेनले आफू एक्लै हत्यामा संलग्न भएको बताए ।

१९ वर्षीया ख्यातिलाई अपहरण गर्ने योजनामा समेत अरू कसैको संलग्नता नभएको उनको भनाइ छ । वीरेनले मेरिनालाई अपहरणमा प्रयोग गरे पनि उनलाई त्यसको जानकारी नभएको बयान दिएका छन् ।

वीरेनका अनुसार एकजना केटीलाई कोठामा पुर्‍याइदिनुपर्ने सहमतिअनुसार मेरिना वीरेनको मोटरसाइकलमा बसेर पुतलिसडक आएकी थिइन् । पुतलिसडकमा एकछिन बसेपछि मोटरसाइकलबाट झर्दै गरेकी ख्यातिलाई वीरेनले टाढैबाट मेरिनालाई चिनाएका थिए ।

मेरिनाको बयानअनुसार योभन्दा अगाडि उनले ख्यातिलाई चिनेकी थिइनन् । छुटिने वेलामा वीरेनको हातबाट पाँच सय रुपैयाँ लिएको मेरिनाले जनाएकी छिन् । 'त्यो पैसा ट्याक्सी चढ्नलाई लिएकी हुँ,' उनले भनेकी छिन् ।

भोउ म्यागेजिनको अन्तर्वार्ताका लागि भनेर बोलाइएकी ख्याति २२ जेठ बिहान आठ बजे पुतलसडक पुगेकी थिइन् । कथित अन्तर्वार्ता दिने ठाउँमा पुर्‍याउने जिम्मा वीरेनले लिएका थिए ।

ख्यातिलाई लिएर मेरिना वीरेनको कोठामा पुग्दा वीरेन अगाडि नै त्यहाँ थिए । कोठामा पुगेको केही समयपछि वीरेनले ख्यातिलाई आक्रमण गर्न थालेपछि किन यसो गरेको भनेर छेक्न खोजेको मेरिनाले बताएकी छिन् ।

बयानमा मेरिनाले भनेकी छिन्, 'रडले ख्यातिलाई हान्दा छेक्न खोजेपछि वीरेनले मलाई पनि एक झापड हान्यो ।' वीरेनले पिटेपछि आफूलाई अर्को कोठामा दिनभर थुनेर राखेकोसमेत मेरिनाको बयानमा उल्लेख छ ।

ख्यातिको हत्या दिउँसो २ बजेतिर भएको मेरिनाले जनाएकी छिन् । हत्यापछि घटनाबारे कसैलाई नभन्ने सर्तमा वीरेनले मेरिनालाई मोटरसाइकलमा राखेर घरमा पुर्‍याएका थिए ।

बयानको विषयमा कुरा गर्दै अधिवक्ता हरिषचन्द्र सुवेदीले भने, 'वीरेनले प्रहरीमा दिएको बयान र अदालतमा दिएको बयानमा केही फरक छैन । उनले हत्या गरेर फिरौती लिएको स्विकारेका छन् ।' बिहान ११ बजे वीरेन र मेरिनाको अदालतमा बयान सुरु भएको थियो ।

बयानका क्रममा समेत निकै जिज्ञासुका रूपमा प्रस्तुत भएका वीरेनले कमा, फुलस्टप, र जस्ता अक्षर बीच-बीचमा सच्याउने प्रयास गरेका थिए । आफूले बोलेको र लेखेको कुराबीच तालमेल छ कि छैन भनेर उनले निकै ख्याल गरेको बयानमा संलग्न अधिकारीले जनाएका छन् । मेरिना भने सामान्य रूपमा प्रस्तुत भएकी थिइन् ।

ख्यातिका सर्मथकहरूले अदालत घेर्ने आशंकामा अदालतको सुरक्षा व्यवस्था निकै कडा गरिएको थियो । अदालतका सबै काम थाँती राखेर अगाडि बढाइएको बयान र सुनुवाइपछि वीरेन र मेरिनालाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय भएको छ । न्यायाधीश भुपेन्द्रप्रसाद राईको एकल इजलासले थुनुवामा राख्ने निर्णय गरेपछि वीरेनलाई केन्द्रीय कारागर र मेरिनालाई महिला कारागार पठाइएको छ ।