चितवन, ४ मंसिर
जग्गाको कारोबार गर्दै आएका पाँच व्यक्तिलाई अपहरण गरी करोडौँ फिरौती असुल्ने अपहरणकारीको योजना विफल भएको छ । बुधबार चितवनमा जग्गाको कारोबार गर्दै आएका दुईजना अपहरणमा परे पनि एकजना बीचबाटै भाग्न सफल भएका छन् । उनैको सहयोगमा एक अपहरणकारीलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।
चारजनाको समूहमा रहेका अपहरणकारीले बुधबार चितवन, भरतपुरनिवासी धनबहादुर केसी र हरि वस्तीलाई अपहरण गरेका थिए । जग्गा किन्ने ग्राहक बनेर आएका उनीहरूले केसी र वस्तीलाई भरतपुर नपा- १० बाट कारमा राखी नवलपरासीको गैँडाकोट पुर्याएका थिए । गैँडाकोट क्रस हुनासाथ अपहरणकारीले केसीलाई फिल्मी शैलीमा टाउकामा पेस्तोल तेस्याई जनही दुई करोड रुपैयाँ फिरौती मागेका थिए ।
लगत्तै अपहरित वस्ती कारबाट हामफालेर भाग्दै कावासोती प्रहरीकहाँ पुगेका थिए । घटनालगत्तै सादा पोसाकमा खटिएका प्रहरी फिरौती रकम दिने नाटक गर्दै अपहरणकारीमध्ये एक देवीबहादुर कँडेललाई कावासोती बजारबाट पक्रन सफल भएका थिए । अपहरणकारीले बा ५ च ५१८५ नम्बरको नीलो रंगको कार प्रयोग गरेका थिए ।
अपहरणमा संलग्न कँडेल पक्राउ परे पनि विकास लामा, थर नखुलेका राजु र मनोज अझै फरार छन् ।
केसीका अनुसार अपहरणकारी बिहान साढे १० बजे भरतपुर- १० स्थित उनको निवास पुगेका उनीहरूले भद्र शैलीमा 'जग्गा किन्नु छ' भनी कारमा राखेर अपहरण गरेका थिए । बसपार्कनजिकको र भनपा- ११ को जग्गा देखाएको तर भाउ नमिलेपछि उनीहरूलाई गैँडाकोटको जग्गा देखाउन लगिएको केसीले बताए । 'तर, हेर्ने भनेको जग्गा कटिसकेपछि उनीहरूले कन्चटमा पेस्तोल तेस्र्याई तिमी हाम्रो कब्जामा छौ, चुप लाग भनी जंगलतिर लगे । त्यति नै बेला वस्ती कारबाट हामफाले,' केसीले बताए ।
प्रहरीका अनुसार जग्गाका कारोबारी पाँचजनालाई अपहरण गरी कम्तीमा दुई-दुई करोडका दरले फिरौती लिने र पछि भागबन्डा गर्ने सहमति अपहरणकारीले बनाएका थिए ।
केसीका अनुसार अपहरणकारीले आफूहरू किरात वर्कर्स पार्टीसम्बद्ध बताएका थिए । पार्टीको नीतिअनुरूप अपहरण गरेको भन्दै उनीहरूले रकम नदिए मारिदिने धम्कीसमेत दिएको केसीले बताए । दिउँसो साढे १ बजे अपहरणको खबर पाएपछि प्रहरी नायब निरीक्षक कृष्ण सेढाईंको नेतृत्वमा ६ जनाको टोली सादा पोसाकमा चितवनबाट कावासोती गएको थियो । प्रनानि सेढाईंले भने, 'कावासोती बजारमा टेलिफोन गरिरहेका अपहरणकारीलाई शंका लागेर समातेपछि सबै पोल खुलेको हो ।' कँडेल पक्राउ परेको जानकारी पाएपछि अन्य अपहरणकारी केसीलाई कावासोती जंगलमा हात बाँधी छाडेर भागेका थिए ।
Wednesday, May 4, 2011
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment